
पारिजात वचत तथा ऋण सहकारी संस्था लि.को आधिकारिक वेबसाइटमा समस्त शेयर सदस्य र यस साइटका आगन्तुकहरूलाई हार्दिक स्वागत गर्दैछौ । यो संस्था सहकारिताको विश्वव्यापी सिद्धान्त, मूल्य मान्यता र नेपाल सरकारको सहकारी ऐन, नियमावली र नीति निर्देशिका अनुरूप आफ्नो आफ्ना शेयर सदस्यहरुलाई सहकारी सेवा प्रदान गर्ने दिशामा निरन्तर क्रियाशिल रहेको छ । हाम्रो मूल मन्त्र “नियमित कारोबार, उत्तरदायी व्यवहार, सुसुचित शेयर सदस्य पारिजातका आधार ” का साथ भक्तपुर जिल्लाभर सेवा प्रदान गर्न प्रतिबद्ध छौं।
हाम्रो संस्था ” आर्थिक सामाजिक रूपले समृद्ध, वित्तीय रूपमा साक्षर र उद्यमशील शेयर सदस्यहरूको सक्रिय सहभागितामा सञ्चालित सहकारी मूल्य, मान्यता र सिद्दान्तमा आधारित सक्षम, सुशासित र क्रियाशील वित्तीय संस्था ” को परिकल्पना गर्दै दीर्घकालीन रणनीति तर्जुमा गरेर अगाडि बढिरहेको छ। संचालक समिति, लेखा र सुपरीवेक्षण समिति, सल्लाकार, विभिन्न उपसमिति, कर्मचारी, सबै शेयर सदस्य र यस संस्थाका शुभ चिन्तकहरूको सक्रियता, प्रतिबद्धता र मेहनतका कारण, हामीले वचत र ऋण सहकारी संस्थाका आर्थिक र संस्थागत लक्ष्यहरू (PERLS र HIMAL) का धेरै न्यूनतम मापदण्डहरू सफलतापूर्वक पूरा गर्दै नेपालभर रहेका बचत तथा ऋण सहकारी संस्थाहरू मध्ये यस संस्थाले २७२० शेयर सदस्य र ४६८ बालबचत कर्ताहरूलाई उत्कृष्ट सेवा प्रदान गरिरहेकl छौं।
हालसम्म १६ वर्षको सफल कार्य अवधिमा आवश्यक पूर्वाधार सहितको आफ्नै कार्यालय भवन र मानव संसाधनको उचित व्यवस्थापन गर्न सफल भएको यो संस्थाले भविष्यमा पनि सहकारीको अन्तर्राष्ट्रिय मूल्य, मान्यता, सिद्दान्त र मुलुकको कानुनका आधारमा मिश्रित वर्गलाई लक्षित गरी छरिएर रहेका पूँजीलाई एकत्रित गर्दै वित्तीय साक्षरताको प्रवर्द्धन सहित आर्थिक र उत्पादन क्षेत्रमा लगानी वृद्धि गर्दै एक सक्षम वित्तीय संस्थाका रूपमा स्थापित हुने लक्ष्य लिएको छ। यी लक्ष्य प्राप्तिका क्रममा, हामी संस्थामा आइपर्ने जोखिम न्यूनीकरण गर्दै, आफ्नो कार्यक्षेत्रमा गरीबी न्यूनिकरण, लैंगिक समानता र सामाजिक सद्भावको सुदृढीकरणमा उल्लेखनीय योगदान गर्न सक्रिय रहने छौं।
१४औं वार्षिक साधारण सभामा सम्पूर्ण शेयर सदस्यहरूको एकमतले नयाँ संचालक समितिलाई संस्थाको सञ्चालनको कार्यभार सुम्पदा हामी सम्पूर्ण टिमको तर्फबाट हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छौं । यस बीचमा, विश्वभर फैलिएको कोभिड-१९ को महामारी, विभिन्न देशहरू बीचका आन्तरिक तथा बाह्य युद्धहरू, लगायत अन्य विभिन्न कारणहरूले विश्वभर सिर्जना भएको आर्थिक मन्दीका कारण हाम्रो देश नेपालमा पनि यसको प्रभाव रहेको भएता पनि सहकारीताको व्यवसायिक सिध्दान्तमा पूर्ण प्रतिवध्द रहेको र सम्पूर्ण शेयर सदस्यहरूको विश्वास र भरोसाका कारण यो संस्था आर्थिक तथा सामाजिक रूपमा सक्रिय रहेर सेवा प्रदान गर्न सक्षम रहेको कुरा यहाँहरूलाई अवगत नै छ l
सहकारीमा रकमको कारोवारको आकार जति बढ्दै जान्छ, त्यति नै बढी सतर्क रहनु आवश्यक हुन्छ। जति माथि पुगिन्छ, लड्दा त्यति नै बढी चोट लाग्ने सम्भावना उति नै बढि रहन्छ । सहकारीको क्षेत्रमा अहिले चौतर्फी आक्रमणको प्रयास भई आएको अवस्था छ । यस सन्दर्भमा हामी यस संस्थाको नेतृत्व पंक्तिका रूपमा रही सदैव सहकारीका दर्शन, सिद्धान्त, मूल्य र मान्यतामा रहेर नयाँ प्रविधिलाई समेत आत्मसात गर्दै सदस्यहरूकै चाहाना वमोजिम उनीहरूको हितमा निरन्तर वित्तिय सेवा प्रदान गर्न प्रतिवद्ध रहेको जानकारी गराउन चाहान्छौं ।
सस्थालाई अझै पारदर्शी बनाउन तथा यसका गतिबिधिहरूमा सदस्यहरुको पहुँच बढाउन संचालनमा ल्याइएको यो वेव साइटको प्रयोग गरी बढि भन्दा बढि संस्थागत फाइदा उठाउन साथै यसलाई अझ प्रयोगकर्ता मैत्री बनाउन सुझाव तथा मार्ग दर्शनका लागि समेत अनुरोध गर्दन्छौं ।
जय पारिजात। जय सहकारी।
टंकराज काफ्ले
अध्यक्ष